प्रहरी कार्यालयबाट सात थुनुवा फरार, बोल्नै मान्दैनन् एसपी

१५ मंसिर, लहान । ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारी सिरहाबाट आज साँझ सात जना थुनुवा फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा विभिन्न मुद्दामा थुनुवाका रुपमा रहेका ११ जना शनिबार साँझ ६ः ३० बजेतिर फरार भएकोमा चार जनालाई तत्कालै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अन्य सात जना अझै फरार रहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।

फरार भएका थुनुवाहरुको खोजीका लागि सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीमाक्षेत्रको जाँचमा समेत कडाइ गरिएको प्रजिअ अधिकारीले बताए ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरमा कार्यरत प्रहरीमध्ये अधिकांशले जिल्लाको कल्याणपुर नगरपालिका–१२ मा आज भएको उपनिर्वाचन र विवाहपञ्चमीका लागि जनकपुरमा खटिएकाले त्यहाँ थोरै सङ्ख्यामा प्रहरी रहेका थिए । सोही मौका छोपी थुनुवाहरु फरार भएको हुन सक्ने अनुमान प्रहरीको छ ।

ठूलो सङ्ख्यामा एकै पटक थुनुवाहरु फरार भएकाले घटना बारे थप अनुसन्धान भइरहेको प्रजिअ अधिकारीको भनाइ छ । यता घटना बारे सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीसँग थप जानकारी लिन खोज्दा उनले कुरा गर्न चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार