१४ मंसिर, काठमाडौँ । अस्ट्रेलियाको एडिलेडमा बस्दै आएका २५ वर्षीय नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको संघीय प्रहरीले गत बुधबार पूर्व प्रेमिकाको अन्तरङ्ग तस्वीर तथा भिडियो इन्टरनेटमा अपलोड गर्ने धम्की दिएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ एडिलेडस्थित उनको घरबाट विद्युतीय उपकरणहरू पनि जफत गरेको छ। युनिभरसिटी अफ साउथ अस्ट्रेलियामा अध्ययन गरिरहेका तथा ‘उबर इट्स’ मा ड्राइभरका रूपमा काम गरिरहेका आरोपित नेपाली विद्यार्थीलाई आजै प्रहरीले ‘एडिलेड मेजिस्ट्रेट कोर्ट’ मा पेश गरेको थियो ।
अदालतमा प्रहरीले ती विद्यार्थीमाथि सञ्चार सेवाको प्रयोग गर्दै गम्भीर प्रकृतिको धम्की, उत्पीडन वा निजी यौनजन्य सामग्री बाँडेको आरोप लगाएको छ । प्रहरीले ती आरोपित विद्यार्थीले आफ्नी पूर्व प्रेमिकाले अरूसँग विवाह गरेपछि त्यस्तो धम्की दिएको बताएको छ । त्यसैगरी तस्वीर र भिडियोहरू आपसी सहमतिमा खिचिएको भए पनि सम्बन्ध समाप्त भएपछि प्रेमिकाको परिवारलाई पठाउने धम्की सामाजिक सञ्जालमा दिएको समेत आरोप प्रहरीले लगाएको छ ।
साथै प्रहरीले ती आरोपित विद्यार्थीले आफू अस्ट्रेलियाको नागरिक नभएको र पीडित महिला वेलायतमा बस्ने भएकाले प्रहरीले केही पनि गर्न नसक्ने भनेर धम्की समेत दिएको पनि आरोप लगाएको छ । आरोपित विद्यार्थीले उनीमाथि लगाइएको आरोपहरूको विरुद्ध लड्ने मनसाय राखेको अदालतलाई जानकारी दिएको पनि बताइएको छ । गत जुनमा अस्ट्रेलिया आउनुअघि ती आरोपित विद्यार्थी र पीडित महिला वेलायतमा बस्दै आएका थिए जहाँ उनीहरूको घनिष्ट सम्बन्ध थियो । सम्बन्ध विच्छेद भएपछि पीडित महिलाले अरूसँगै विवाह गरेकी थिइन् ।
गत अगस्ट महिनामा ती प्रतिवादीले पीडित व्यक्तिको श्रीमान्लाई सम्पर्क गरेर इन्टरनेटद्वारा उनलाई निकै निजी पलहरू कैद भएका भिडियोहरूका ‘स्क्रिनशट’हरू पठाएपछि उनले वेलायतमा प्रहरीलाई खबर गरेको बुझिएको छ। त्यसपछि वेलायती अधिकारीले अस्ट्रेलियाली संघीय प्रहरीलाई खबर गरेको बताइएको छ । यदि आरोप सावित भएमा उनलाई कम्तीमा ५ वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।