
१४ मंसिर, काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २ र १ को रणनीति बनाउन खोजेको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनुभयो । चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदुरी कायम राख्नुपर्ने बताउनुभयो । २ जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकाले आफूलाई चित्त नबुझेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दहालले नेपालको द्रुततर विकाशमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याउनुभएको छ । नेपाल, चीन र भारतको ट्रान्जिट मात्र नभई विकास साझेदार रहेको बताउनुभयो । अध्यक्ष दाहालले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताउनुभयो ।
यस्तै नेपाल, भारत र चीन बीचको सम्बन्ध जनस्तरसम्म लान आवश्यक रहेको पनि बताउनुभयो । नेपालले त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नुपर्ने बताउनु भयो ।