१३ मंसिर, हुम्ला । उत्तरी हुम्लामा बिहीबार बेलुकाबाट हिमपात सुरु भएको छ। बिहानैदेखि बाक्लो बादल लागेर चिसो अत्याधिक बढेको भएपनि बेलुकाबाट हिमपात सुरु भएको हो ।
बेलुका आठ बजेबाट हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन्। यसअघि पहिलो पटक हिमपात हुँदा पानी पर्ने गरेको भए पनि यस पटक भने पानी नपरी हिउँ पर्न सुरु भएको छ ।
हिउँ मसिनो रुपमा पर्न सुरु भएको छ। सिमकोटमा समेत हिउँ जम्न सुरु भएको छ । यसअघि अग्ला डाँडासम्म हिउँ जम्न सुरु भएको थियो। हिमपात भएपछि तापक्रम माइनस चार डिग्री पुगेको छ। चिसो भने दिउँसैबाट बढेको थियो ।
हिमपात जिल्लाको माथिल्लो क्षेत्रमा बढी भएको छ। विशेषगरि अग्ला क्षेत्रहरु सिमकोट गाउँपालिकाको रलिङ, पंचमुखी, चाङ्ला हिमालमा बढी हिमपात भएको छ भने नाम्खा गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको छ। हिमपातपछि हिमाल पारीको लिमी र चाला गाउँमा आवत जावत कठिन भएको छ ।