१३ मंसिर, एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। अवे मैदानमा भएको खेलमा ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेड एफसी अस्तानासँग २–१ पराजित भएको हो ।
खेलको १० औँ मिनेटमा नै जेसी लिंगार्डको गोलबाट युनाइटेडले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । अस्तानाका लागि ५५ औँ मिनेटमा शोम्कोले बराबरी गोल गरे ।
६२ औँ मिनेटमा युनाइटेडका डी’शोन बर्नार्डले आत्मघाती गोल गरे र अस्ताना २–१ ले विजयी भयो । युनाइटेडको टिममा यो खेलका लागि सबै युवा खेलाडी थिए ।
प्रशिक्षक ओलले यो टिममा रहेका केही खेलाडी अब युनाइटेडको सिनियर टिमका नियमित खेलाडी बन्ने बताएका छन् । परातिज भए पनि अन्तिम ३२ का लागि छनौट भइसकेको युनाइटेड समूह एल को शीर्ष स्थानमा छ, पाँच खेलबाट १० अंकसहित ।
बिहीबार राति नै भएको खेलमा पार्टिजान बेलग्राडेसँग २–२ को बराबरी खेलेको एजेड अल्क्मार ९ अंकसहित दोस्रो स्थानमा छ।