१२ मंसिर, काठमाडौं । शनिबार हुने उपचुनावका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आचार संहिताको पुर्ण पालना गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ । मौन अवधिमा आचार संहिता उलंघनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेदवार र आम मतदातालाई आव्हान गरेको हो ।
आचारसंहिता विपरितका कार्य गर्नेलाई निर्वाचन कसुर तथा सजायँ ऐन २०७३ अनुसार कारबाही गरिने भन्दै आयोगले मौन अवधिमा सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरि मत माग्न, प्रचार प्रशार लगायतका कार्य नगर्ने सचेत गराएको छ । आयोगले मौन अवधिमा आचार संहिताको पूर्ण पालना गरि निर्धक्क रुपमा मतदाताले मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गर्न सबैसंग अपील गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाब दिने, मतदाता परिचयपत्र कब्जा गर्ने जस्ता घटना भएमा तुरुन्तै जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि आग्रह गरे ।
निर्वाचन आयोग आयोगले उपनिर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भएको पनि जनाएको छ । आयोगले उपनिर्वाचन पर्यवेक्षणका लागि ४ वटा राष्ट्रिय पर्यवेक्षण संस्थाहरुलाई अनुमति प्रदान गरेको छ । त्यसैगरी मतदानको दिन मतदान केन्द्र भ्रमणका लागि परराष्टमन्त्रालय मार्फत अमेरिका, जापान र अष्टे«लिया दुतावास तथा युरोपियन युनियनलाई पनि अनुमति दिएको आयोगले जनाएको छ ।
शनिबार कास्की निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य, स्थानिय तह तर्फ उपमहानगरपालिका, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडा अध्यक्ष समेत गरी ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि २ सय ४७ मतदान स्थल, ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।