
१२ मंसिर, सिड्नी । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा गत शनिबार हत्या गरिएका युवा सन्तोष गौतमको शव नेपाल पठाउनका लागि अस्ट्रेलियामा अर्थ संकलन अभियान शुरु गरिएको छ ।
एनआरएनए अस्ट्रेलियाले नेतृत्व गरेको सो अर्थ संकलन अभियानमा नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलिया, रूपन्देही सामाजिक सञ्जाल, ग्रानभिल नेप्लिज कम्युनिटी क्लब लगायतका नेपाली संघसंस्थाले सहकार्य गर्नेछन् ।
रूपन्देही जिल्ला घर भएका मृतक गौतमका आफन्तजनसँगको कुराकानीपछि शवलाई नेपाल पठाउन अर्थ संकलन अभियान अगाडि बढाइएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यूसाउथवेल्स राज्यका संयोजक देव गुरुङले बताए । उनले भने, ‘प्रवासमा घट्ने हरेक दुःखद् घटनाहरूमा हाम्रो समुदाय सधैँ एकतावद्ध भएर खुला हृदयले सहयोग गरेको इतिहास रहिआएको छ । तत्कालका लागि शव नेपाल पठाउनु प्रमुख उद्देश्य रहेकाले सबै समुदायमा सक्दो सहयोग गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।’
गुरुङले अगाडि भने, ‘हाम्रो समुदायमा भएको यो हृदयविदारक घटनाले हामी सबैलाई मर्माहत बनाएको छ । यस्ता घटना भविष्यमा नदोहोरिउन् भन्नेतर्फ हामी सबै सचेत हुँदै एकताबद्ध भएर यी समस्याका जरोलाई पहिचान गरेर सम्बोधन गर्न जरुरी छ ।’ करिब १५ हजार अस्ट्रेलियन डलर संकलन गर्ने उद्देश्य राखिएको सो अभियानबाट शव नेपालमा आफन्तलाई बुझाएपछि बाँकी रहने सबै रकम उनको ७ वर्षीया छोरीको खातामा जम्मा गरिनेछ ।
गत २३ नोभेम्बर शनिबार साँझ ७ः३० बजे ग्रानभिलको ब्याकसेल स्ट्रिटमा घाइते अवस्थामा भेटिएका ३४ वर्षीय सन्तोष गौतमलाई एम्बुलेन्समार्फत् सिड्नीस्थित वेस्टमिड अस्पतालमा लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको थियो । न्यूसाउथवेल्स प्रहरीले घरेलु हिंसा प्रकृतिको सो घटनामा मृतक गौतमकी श्रीमती नुमा गौतम आचार्यलाई पक्राउ गरेर हत्याको अभियोग दर्ता गरेको छ ।
यसअघि नेप्लिज क्रिकेट एसोसिएसन अफ अस्ट्रेलियाले पनि मृतक सन्तोष गौतमको शव नेपाल पठाउने उद्देश्यका साथ आर्थिक संकलन अभियान शुरु गरिसकेको छ जसमा हालसम्म करिब ५ हजार अस्ट्रेलियन डलर संकलन भइसकेको छ । साथै उक्त संस्थाले आगामी डिसेम्बर १ तारिख आइतबारका दिन सिड्नीको अर्लउडस्थित बिमेन पार्कमा मृतक गौतमको सम्झनामा एक श्रद्धाञ्जली कार्यक्रम पनि आयोजना गर्दैछ ।