
११ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माणमा हुने ढिलासुस्ती आफूलाई कुनै हालतमा मान्य नहुने बताएका छन् ।
राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि बाराको निजगढमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले विकास निर्माणको ढिलाईविरुद्ध आफैं आन्दोलनमा उत्रिन तयार रहेको बताए । तराई मधेशका जनतासँग संविधानसभाको दोस्रो चुनावदेखि नै लभ परेको भन्दै प्रचण्डले आफ्नो लभरका लागि आन्दोलन गर्न तयार रहेको बताए ।
‘म दोस्रो पटक प्रधानमन्त्री बन्दा तपाइहरुकै मतबाट निर्वाचित भएँ । त्यतिबेला मैले भनेको थिएँ तराइमधेशमा बस्ने जनतासँग मेरो लभ परेको छ ।’ प्रचण्डले थपे, ‘आज म भन्न चाहन्छु मेरो लभरलाई यहाँ भन्दा बढी दुस्ख दिनेविरुद्ध आन्दोलन गर्न तयार छु ।’ २ नम्बर प्रदेशको विकास र सम्वृद्धिका लागि विभिन्न राष्ट्रिय गौरवका आयोजना अघि बढिरहेको भन्दै प्रचण्डले निजगढ विमानस्थलको काम छिट्टै अघि बढ्ने बताए ।
‘२ नम्बर प्रदेशको विकास र सम्वृद्धिका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दैछ । टांगिया बस्तीका १४ सय ७६ परिवारको व्यवस्थापन चुनौती छ । त्यसलाई व्यवस्थापन गरी छिटो विमानस्थल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’ उनले भने पूर्वपीश्चम रेल मार्ग, हुलाकी मार्ग निर्माणको क्रममा रहेको छ । मधेशमा अन्य विकास आयोजनामा पनि सरकारको प्राथमिकतामा छ ।’