
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा माग्ने र उनीहरूको सट्टा नयाँ मन्त्रीहरू नियुक्ति गर्ने सम्भावना देखिएको बताइएकाे छ । स्राेतका अनुसार प्रधानमन्त्री ओलीले पूर्व एमाले र पूर्व माओवादीका तर्फबाट प्रतिनिधित्व गर्ने केही मन्त्रीलाई हटाएर सरकारबाहिर रहेका प्रभावशाली नेताहरूलाई मन्त्री मन्त्रिपरिषदमा ल्याउने तयारी गरेकाे छ ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार याे पटक सरकारबाहिर रहेका र सरकारका केही कदमहरूमा आलोचनासमेत गर्रदै आइरहेका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र जनार्दन शर्मालाई मन्त्री बनाउने तयारी रहेकाे छ । त्यसैगरी सरकारसँग नरम रहेका र पार्टीमा प्रभाव राख्ने नेताहरू पम्फा भुसाल, देवेन्द्र पौडेल र छविलाल विश्वकर्मालाई पनि मन्त्री बनाउने प्रधानमन्त्रीकाे तयारी छ । सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्दै आउनुभएका नेता भीम रावललाई पनि मन्त्रीकाे जिम्मेवारी दिइने प्रधानमन्त्रीकाे तयारी रहेको छ ।
मन्त्रीका लागि नेताहरुको नाम चर्चामा आएपनि चर्चामा आएका सबै नेता भने मन्त्रीपरिषदमा समेटिने सम्भावना देखिंदैन् । केहिदिन अघि आफ्नो निजी सचिवालय परिवर्तन गर्न खोजेका प्रधानमन्त्रीले सचिवालयमा रहेकाहरुलाई पूर्णरुपमा बिदाई र नयाँलाई जिम्मेवारी दिनसक्नुभएको छैन् । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजीनामा दिने भनिएपनि भोलिपल्ट देखि नै रिमालले राजीनामा नदिने आशयका भनाइहरु ओलीनिकट वरिष्ठ नेताहरुले सार्वजनिक गर्दै आएका छन् ।
नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘सचिवालयजस्तै मन्त्रीपरिषद् हेरफेरको तयारी पनि बढी चर्चामात्र गर्न खोजिएको हो की, साँच्चीकै हो ? यसै भन्न सकिँदैन् । तर ती नेताले सरकार निर्माण भएको लामो समयसम्म सरकारले उल्लेखनिय गति लिन नसकेको, केवल आफ्नो गुटका नेताहरुलाई मात्रै च्याप्दा सरकार र पार्टीको दुरी बढ्दै आलोचना बढिरहेको, जिम्मेवारी दिइएका विश्वासपात्रहरुले परिणाम आउने गरी काम गर्न नसकेको र आफ्नो स्वास्थ्य जटिलतालगायतका कारणले प्रधानमन्त्री पार्टीमा आम सहमति कायम गरेर मात्रै सफल भइने निश्कर्षमा पुगेको हुनुपर्ने बताए । ‘यदि प्रधानमन्त्री यस्तो निश्कर्षमा पुग्नुभएको हो भने मन्त्रीपरिषद् परिवर्तन हुन्छ र योग्य नेताहरुले पनि जिम्मेवारी पाउनुहुन्छ र त्यसपछि सरकारको रफ्तार पनि बेग्लै किसिमको हुन्छ’, ती नेताले भने ।