
२६ कात्तिक, काठमाडौं । सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई स्वीकृति दिएको हो ।
अहिले भारततर्फ नेपाली सीमा सुरक्षा गर्न सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ३५ जना रहने गरी १ सय ७ वटा बीओपी छन् । चीनसँग सीमा जोडिएका नाकामा सशस्त्रको स्थायी बीओपी छैन । सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी केरुङ र मुस्ताङको कोरला नाका सुरक्षामा जिल्लास्थित सशस्त्र प्रहरी खटिँदै आएको छ ।
अब चीनतर्फ दार्चुलाको तिंकर भन्ज्याङ लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा बीओपी राखिनेछ । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोस्ट बढाउने गृहकार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उहाँले १० किमिकोे फरकमा पोस्टहरु राख्ने तयारी भएको उहाँले जानकारी दिनुभयो । कान्तिपुर दैनिकले खबर छापेको छ ।