
२४ कात्तिक, काठमाडौं । नेपालको मिश्रित टोली नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँग शनिबार १ सय १३ रनको फराकिलो अन्तरले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ७६ रन जोड्न सक्यो।
सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन जोड्नु बाहेक अन्य खेलाडीले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। सन्दीप जोराले १६ रनको पारी खेल्दा कुशल भुर्तेलले १४, भिस सार्कीले १३ तथा कप्तान राहिन पौडेलले ६ रन बनाउँदै पवेलियन फर्किए। यस्तै अमित श्रेष्ठ र सुशन भारी समान १/१ रनमा आउट भए।
नेपालको इनिङलाई सस्तैमा समेट्ने क्रममा एमसीसीका एड योङले सर्वाधिक ३ विकेट लिए। ओलिभर हानन र एलेक्स थोम्पसनले समान २/२ विकेट हात पार्दा एमसीसीका तीन बलरले एक/एक विकेट आफ्नो नाममा लेखाए।
यसअघि पहिले ब्याटिङ गरेको एमसीसी लागि विल्ली गोड्लम्यानले अर्धशतकीय इनिङ खेले। ३० बल सामना गरेका विल्लीले ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै एड योङले ४२ रन जोड्दा मिल्स हाम्मोन्डले व्यक्तिगत ३३ रन जोड्ने क्रममा नेपाली फिल्डरबाट समातिए।
एलेक्स थमप्सन २० रनमा अविजित रहे। बलिङ तर्फ नेपालका राशिद खानले सर्वाधिक ३ विकेट हात पार्दा कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले समान १/१ विकेट आफ्नो नाममा लेखाए।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय प्रथम श्रेणी क्रिकेट खेलिसकेको छ। अब नेपाल भ्रमण रहेको एमसीसीको टोली पोखरा भ्रमण गर्नेछ।
त्यहाँ एमसीसीले आमन्त्रण–११ र मुख्यमन्त्री–११ सँग दुई ट्वान्टी–२० क्रिकेट खेल्ने तालिका रहेको छ।