२३ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएको छ ।
कांग्रेस नेता एनपी साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तिमा हस्ताक्षर गर्नेको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नदेखिएको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धी सबै समस्या समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । विगतका सरकारहरुले सीमा समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यक्ता औल्याए । अध्यक्ष राणाले वर्षौदेखि भारतसँग थाँती रहेका नेपालको सीमा सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।