२२ कात्तिक, काठमाडौं । प्रख्यात व्यवसायी तथा विपश्यना गुरु रुपज्योति बिहीबार राजधानीबाट पक्राउ परेका छन् । सिंगापुरबाट नेपाल फर्किने वित्तिकै काठमाडौँ प्रहरीले रुप ज्योतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
बिहीबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका रुपज्योतिलाई प्रहरीको टोलीले दिउँसैदेखि पर्खिरहेको थियो । उनी सिंगारपुरबाट आउने थाहा पाएपछि प्रहरीले दिउँसैदेखि पक्राउको तयारी गरिसकेको थियो ।
अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो। त्यसपछि उनी काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।
तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचिमा थिए । ६ वर्ष पहिले रुपज्योतिले अपार्टमेन्ट व्यावसायमा लगानीका लागि ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गरेर काम गर्दै आएका थियो ।
हाउजिङको काममा निरन्तर लागिरहेको कम्पनीले सम्पूर्ण काम भने सीइ कन्सट्रक्सनमार्फत गर्ने गर्दथ्यो। तर व्यवसायमा तलमाथि भएपछि एकजना पीडितले काठमाडौं प्रहरीमा उजुरी दिएपछि रुपज्योतिको पोल खुलेको थियो ।