
१७ कात्तिक, काठमाडौं । हिन्दी चलचित्रका बादशाह भनिने अभिनेता शाहरुख खान शनिबार ५४ वर्षका भएका छन् । उनले मुम्बईमा रहेको आफ्नो घर ‘मन्नत’ मा जन्मदिन मनाए ।
मध्यरातमा घरको बालकोनीबाट निस्केर खानले आफ्ना प्रशंसकको अभिवादन स्वीकार गरे । शाहरुखले मात्र आफ्ना समर्थकलाई झलक दिएनन् उनले केहीसँग भेटघाट समेत गरे ।
आफ्नो फेवरेट कलाकारलाई देखेपछि समर्थकहरु खुशी भएका थिए । हरेकवर्ष शाहरुख खानको जन्मदिनमा यस्तो देख्न पाइन्छ । अघिल्लो वर्ष शाहरुख खानको वर्थडे पार्टीमा ठूलो आवाजमा डिजे बजाएको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो।
शाहरुख खान बलिउडका बादशाह हुन् । तर एक समय यस्तो पनि थियो शाहरुखले मुम्बईको सडकमा सुत्नुपरेको थियो । एक दिन गौरी, शाहरुखलाई जानकारी नदिएरै आफ्ना साथीहरुसँग आउट अफ स्टेशन गइन् ।
तब शाहरुखलाई थाहा भयो कि उनी गौरीबिना बाच्न नसक्ने भइसकेका थिए । शाहरुखले यो कुरा आफ्नी आमालाई भने । आमाले उनलाई १० हजार रुपैयाँ दिइन् र भनिन् ‘गौरीलाई खोजेर ल्याउनु’ ।
शाहरुख आफ्ना केही साथीहरुसँगै गौरीको खोजीमा निस्के र गौरी भेटिइन् पनि । यो कुरा त्यतीबेलाको हो जतिबेला शाहरुख खान दिल्लीमा थिएटर गरिरहेका थिए । गौरीलाई देखेको पहिलो नजरमै शाहरुखको मनमा प्रेम टुसाएको थियो । पछि शाहरुखले गौरीको घरको ठेगाना पत्ता लगाए र कुराकानीको क्रम अगाडि बढाए । अब दुईजनाको भेटघाटको सिलसिला पनि सुरु भयो ।
शाहरुखले गौरीको परिवारको पनि मन जिते र २५ अक्टूबर १९९१ मा उनीहरुको विवाह भयो । विवाहपछि गौरी मुम्वईबाट दिल्ली आउने जाने गरिरहन्थीन् किनभने शाहरुख काममै व्यस्त हुन्थे । यस्तोमा गौरी एक्लै हैरान हुन्थिन् । यो कुरा शाहरुखले एक अन्तर्वातामा भनेका छन् ।