१६ कात्तिक, काठमाडौं । घरेलु टोली अस्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टीट्वेन्टी शृंखला क्लीन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार सात विकेटको जित हात पार्दै अस्ट्रेलियाले श्रृंखला ३(० ले जितेको हो ।
अन्तिम खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ४२ रन मात्र जोडेको थियो । भ्रमणकारी टोलीका लागि कुशल परेराले सर्वाधिक ५७ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र प्याट कुमिन्सले दुई दुई विकेट लिए ।
घरेलु टोलीले १७ ओभर ४ बलमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्यो । डेभिड वार्नरले अविजित ५७ रन बनाए। कप्तान आरोन फिन्चले ३७ रन जोडे । एस्टन टर्नर २२ रनमा अविजित रहे । पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै अस्ट्रेलियाले जितको आधार बलियो बनाएको थियो ।
५० बलमा एक छक्का र चार चौका प्रहार गरेका ओपनर ब्याट्सम्यान वार्नर प्लेयर अफ दी म्याच घोषित भए । प्लेयर अफ दी सिरिज पनि वार्नर नै चुनिए ।