
१४ कात्तिक, काठमाडौं । अति प्रतिस्पर्धात्मक खेलमा टाइब्रेकर मार्फत जित निकाल्दै लिभरपुलले लिग कप ९इएफएल कप वा काराबाओ कप० को क्वाटरफाइनलमा स्थान बनाएको छ ।
चौथो चरण अन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई टाइब्रेकरमा ५–४ ले पराजित गरेको हो । त्यसअघिको निर्धारित समयको खेलमा ५–५ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको हो । आर्सनलका दानी सेबालोसले प्रहार गरेको पेनाल्टी लिभरपुलका गोलरक्षकले रोकेपछि लिभरपुलको जित निश्चित भएको हो ।
निर्धारित समयको खेलमा गोलको सुरुवाति आत्मघाती गोलबाट भएको थियो । छैटौँ मिनेटमा आर्सनलका मुस्ताफीले आत्मघाती गोल गरेर लिभरपुललाई अग्रता दिलाए । त्यसपछि आर्सनलले तीन गोल गर्यो ।
१९ औँ मिनेटमा तोरेइरा तथा २६ र ३६ औँ मिनेटमा मार्तिनेलीले गोल गरे । ४३ औँ मिनेटमा पाएको पेनाल्टीमा मिल्नरले लिभरपुलका लागि गोल गरे ।
आर्सनलका लागि ५४ औँ मिनेटमा माइत्ल्याण्ड–नाइल्स र ७० औँ मिनेटमा विलकले गोल गरे । लिभरपुलका लागि ५८ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन तथा ६२ औँ र इन्जुरी समयको चौथो मिनेटमा आरिजीले गोल गरेका हुन् ।
जितपछि घरेलु टोली लिभरपुल अन्तिम ८ मा पुगेको छ भने आर्सनल बाहिरिएको छ । बुधबार राति नै भएका खेलमा चेल्सीलाई २–१ ले पराजित गरेर म्यानचेस्टर युनाइटेडले पनि अन्तिम ८ मा स्थान पक्का गरेको छ । यस्तै एस्टन भिल्लाले वुल्भ्सलाई २–१ ले नै पराजित गरेर क्वाटरफाइनल यात्रा तय गरेको छ ।