
९ कात्तिक, काठमाडौं । पाँच महिनादेखि सुस्ताएको सुन व्यवसाय तिहार लागेसँगै जगमगाउन थालेको छ । लक्ष्मीपूजाको दुई दिन अगाडि मनाइने धनतेरसलाई लक्षित गर्दै सुन र चाँँदीको गहना किन्ने ग्राहकहरु बढेको व्यवसायीले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यका अनुसार सुन र चाँदीका सिक्का तथा गहना किन्न आउने ग्राहक केही दिनदेखि बढेका छन् । सुनको मूल्य बढेपछि पाँच महिनादेखि सुस्ताएको सुन व्यवसायमा फर्किएको चमकले आशा जगाएको शाक्यले बताए ।
सुन र चाँदीका गहना खरिद गरे घरमा लक्ष्मीको बास हुन्छ भन्ने भारतीय प्रचलनको धनतेरस पर्वका कारण व्यवसायमा रौनकता देखिन थालेको सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको बुझाइ छ ।तीज, दशैं जस्ता पर्वमा ठप्पै बनेको व्यवसाय अहिले जुमुराएको जस्तो लागेको छ । महासचिव बज्राचार्यले भने ।
पछिल्लो केही दिनयता सुनको भाउ प्रतितोला ७० हजारभन्दा माथि छ । शुक्रबारका लागि छापावल सुन प्रतितोला ७१ हजार तथा तेजाबी ७० हजार ७ सय प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलाको ८६० रुपैयाँ रहेको छ ।
धनतेरसमा गहना भित्र्याउँदा घरमा लक्ष्मीको बास हुने र अब बजार बढ्दैन भन्ने आशा ग्राहकमा देखिएको व्यवसायीहरुले बताउने गरेका छन् । अघिल्लो वर्ष तिहारमा ३० किलो हाराहारी सुन बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी सघंले जनाएको छ ।