
८ कात्तिक, काठमाडौं । वुमन्स च्याम्पियन्स लिग ९डब्लूसिएल०को उपाधि चितवन राइनोजले उचालेको छ । चितवनले दिएको १ सय १३ रनको लक्ष्य पूरा गर्न नसक्दा क्याट क्वीन काठमाडौं ४५ रनले पराजित भएको छ ।
चितवनको जितको लागि सुमन खतिवडा एक्लैले ३ विकेट लिइन् भने रेखा रावल र रेखा कनौजियाले समान २–२ विकेट लिएका छन् । जवाफी ब्याटिङ गरेको काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रनको योगदान गरिन् भने विकेट किपर तथा ब्याट्सवुमेन ममता थापा र इश्वरी बिष्टले समान १३–१३ रन बनाएकी छन् । अन्य खेलाडीहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको थियो । उसका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् । त्यस्तै काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडिन् । काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक–एक विकेट लिइन् ।
क्वीन्स ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको बिजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख प्राप्त गर्नेछ ।