
६ कात्तिक, काठमाडौं । ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन् । उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन् । ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन् ।
गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ सडकको भित्तो उनको कम्पनीका बालुवा र ढुंगा उत्खननका स्रोत हुन् । सातदोबाटोस्थित प्राणदेवी इन्टरप्राइजेजका सञ्चालक राजकुमार भण्डारी भन्छन्, ‘वडाध्यक्ष विष्णु तिमिल्सिना, गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनलगायतले बालुवा, गिटी र ढुंगा उत्खन्न गरी सप्लाई गर्नुहुन्छ । हामी उहाँहरूबाटै किन्छौं ।’
जनप्रतिनिधि हुनुअघि तिमिल्सिना ठेकेदार थिए । हात्तीवनमा उनका कान्तिपथ र गौरी पार्वती कन्स्ट्रक्सन प्रालि नामका दुइटा कम्पनी छन् । ती कम्पनीसँग चारवटा डोजर पनि छन् । जनप्रतिनिधि भएपछि पनि उनी ठेकेदारकै रूपमा व्यस्त छन्, वडा कार्यालयमा खासै भेटिँदैनन् । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।