
२ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा पराजित उम्मेदवार कुल आचार्यले मतदानलगायत विभिन्न प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । यद्यपि ‘ठूलो छाति बनाएर’ नतिजा स्वीकार्ने उनले बताएका छन् ।
शुक्रबार सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । अध्यक्षमा पराजित भएका आचार्यले भने मतदान प्रक्रियामा प्रश्न उठाएका हुन् । अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गरेर धेरै फर्जी मतदाताहरु तयार गरिएको उनको आरोप छ ।
आचार्यले थप भनेका छन्, ‘चुनाव सम्पन्न भइसकेपछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो । नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो ।’
यसअघिका उपाध्यक्ष रहेका आचार्यले काठमाडौंमा एनआरएन सचिवालयको अनियमितता देखेर दुख लागेको पनि बताएका छन् । सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइएको जान्दाजान्दै संस्थाको बृहत् हितलाई ध्यानमा राखेर आफूले संयम अपनाएको उनको भनाइ छ ।
‘यी सबै अनियमतिताहरुलाई सहँदै, मेरो छाती ठूलो बनाउँदै, विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितका लागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु,’ आचार्यले भनेका छन् ।