
२ कात्तिक, काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले निसलाई ४ १ ले पराजित गरेको हो ।
पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो र एक गोल खायो । दोस्रो हाफमा निसका दुई खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टिम ९ खेलाडीमा सीमित भयो ।
पिएसजीको जितमा एन्जल डी मारियाले १५ र २१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै केलियन एमबाप्पेले ८८ औँ तथा आइकार्डीले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।
निसका लागि ६७ औँ मिनेटमा गानागोले एक गोल फर्काएका थिए । यस्तै ७४ औँ मिनेटमा सिप्रिएन र ७७ औँ मिनेटमा हेरिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि निस ९ खेलाडीमा सीमित भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २४ अंक भएको छ ।