
१ कात्तिक, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी महिला क्रिकेट लिग-डब्लूसिएल क्रिकेटमा विराटनगर टाइटन्स वुमनले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा विराटनगरले बिहीबार ललितपुर फाल्कन्सलाई ४ विकेटले हरायो ।
ललितपुर फाल्कन्सले दिएको एक सय २३ रनको लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका ओपनर ब्याट्सवुमन ज्योती पान्डेले ६५ रन बनाइन् । उनले ३५ बलमा एक छक्का र १० चौका प्रहार गरिन् । ज्योतीले २५ बलमा अर्धसतक पुरा गरेकी थिइन् ।
विजयी टोलीका सोनु खड्काले पनि २५ रन जोडिन् । ज्योती र सोनुबीच पहिलो विकेटका लागि ८३ रनको साझेदारी भएको थियो। त्यसअघि, टस हारेपछि ब्याटिङको जिम्मा पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २२ रन जोड्यो । ललितपुरका ६ खेलाडी रनआउट भए । ४ ब्याट्सवुमनले मात्र दोहोरो अंकमा रन जोड्न सके ।
मध्यक्रमकी ममता चौधरीले सर्वाधिक २८ रन बनाइन्। करुणा भन्डारीले २१ रन जोडिन् । कृती सेन र सम्झना खड्का समान १३ रनमा अविजित रहे । रोशनी बोहरा ९, सरिता दिस्वा मगर १, नेरी थापा ४, शान्ती चौधरी ९ र कविता जोसी एक रनमा आउट भए ।
ललितपुरका शीर्ष पाँचमध्ये चार ब्याट्सवुमन रनआउट भए। करुणा र ममता पनि रनआउट नै भएका थिए। यी दुई ब्याट्सवुमनले छैटौँ विकेटका लागि ४० रनको साझेदारी गरेका थिए।