‘यहि ताल हो भने हड्डी पनि नरहनेगरी बजारिने खतरा छ’

१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अस्तित्व नै खतरामा रहेको संकेत गरेका छन् ।

चितवनमा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीभित्र अराजकता, व्यक्तिवादी सोच, स्वार्थ र गुटगत प्रवृत्ति हावी हुँदै गएको भन्दै प्रतिक्रान्तिको खतरा औंल्याएका हुन् । सत्तामा पुगेपछि आदर्श र उद्देश्य विर्सिएर विस्तारै जनताबाट टाढा हँदै जाने कम्युनिष्टहरुको विश्वब्यापी रोग रहेको उनको भनाई थियो ।

ठूलो पार्टीको साख जोगाइरहने चुनौती थपिएको भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले यसैगरी अघि बढे हड्डी भाँचिनेगरी बजारिने बताए । ‘जो जति माथि उठ्छ, खस्यो भने सबैभन्दा नराम्रोसँग बजारिने माथि जानेवाला नै हुन्छ, थोरै मात्रै उठेको मान्छे त लडे पनि त्यसलाई केही पनि हुँदैन’ प्रचण्डले भने, ‘धेरै माथि उठेको पार्टी, धेरै माथि उठेको जिल्ला, धेरैमाथि उठेका मान्छेहरु पछारियो भने हड्डी पनि बाँकी नरहने खतरा हुन्छ । माथि जाने कुरा आफैंमा महत्वपूर्ण कुरा हो तर त्यहिँ अडिरहने र त्यो भन्दा माथि जाने कुरा सबैभन्दा चुनौतीपूर्ण हो । ’

ठूलो बलिदानी र संघर्षबाट प्राप्त परिवर्तनलाई बाहृय तत्वबाट खतरा नभएको उनको दाबी थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र अब कसैले हल्लाएर हल्लिनेवाला छैन, उनले भने, यस्तो अवस्थामा प्रतिक्रियावादी लडेर जित्ने स्थिति छैन । तर हामी कम्युनिष्ट आदर्शबाट स्खलित हुँदै जाने हो भने उनीहरुले आएर जित्नु पनि पर्दैन हामी आफैं पतन हुन्छौं ।’

आफैंले ल्याएको परिवर्तन रक्षा र कार्यान्वयन गर्ने र त्यसबाट जनताले सकारात्मक परिणाम प्राप्त गर्नैपर्छ भन्नेतर्फ हामी कति गम्भीर छौं भन्ने चिन्ता लाग्न थालेको प्रचण्डको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार