३० असोज, काठमाडौं । सदि मुन्निसा शेष (१६) ले पढ्ने जान पाइनन् । बा–आमाले टोलकै केटासँग १४ वर्षमै बिहे गरिदिए । केटा तेस्रो लिङ्गी भएको थाहा भएपछि उनको तलाक भयो । कम्दी र राप्ती सोनारीको जंगलबाट दाउरा नेपालगन्ज सहरमा बेचेर परिवारले गुजारा चलाउँछन् । बाबु रोजली शेष गरीबीका कारण छोरीको दोस्रो बिहे गर्न नसकेको बताउँछन् ।
रिहाना किंघारिता (१८) को पनि दुई वर्षअघि भारतको बाबागन्जमा बिहे भयो । बिहेको एक महिनामै लोग्नेले अर्को पत्नी घर भित्र्याए । एक वर्षसम्म त उनले दुःख कष्ट सहेरै भए पनि घरजम गरेर बसिन् । अर्को वर्ष उनलाई माइत पठाइयो । ‘आजबाट त मेरो बैनी भइस् । म तेरो दाइ भएँ । भनेर तीनवटा ( तलाक तलाक तलाक ) लेखेर चिठ्ठी पठायो’, रिहानाको घटना विवरण सुनाइन्, ‘कुट्थे । खान दिँदैनथे । लोग्ने हो भनेर सहेर बसेकी थिए । मेरो गल्ती केही थिएन । तलाक दिए ।’
रिहानाका लागि पनि दोस्रो बिहे गर्न गरीबी बाधक बनेको छ । उनी ‘क्यारिङ’ (नेपालगन्जका व्यापारीका लागि भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउने काम) बाट गुजारा गरिरहेकी छन् ।
सदि मुन्निसा, रिहाना, नसिरन, गेंदवा र रसिद्दुन नेपालगन्ज उपमहानगरपालिका२२ किंघरियन टोलका तलाक पीडित किशोरी हुन् । १२ देखि १४ वर्षको उमेरमा बिहे गरेर २० वर्ष नपुग्दै तलाक पाएका थुप्रै जना छन् । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।