२९ असोज, काठमाडौं । विश्वकप फुटबलको छनौट अन्तर्गत एसियाली क्षेत्रको छनौटको दोस्रो चरणमा मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
अम्मान अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार राति भएको खेलमा नेपाललाई जोर्डनले ३–० ले पराजित गरेको हो । पहिलो हाफमा गोल नगरे पनि गोल पनि नखाएको नेपाली टोलीको रक्षापंक्ति दोस्रो हाफमा कमजोर देखियो । तीनै गोल दोस्रो हाफमा खायो ।
जोर्डनका लागि खेलको ५५ औँ मिनेटमा साल्बाया फिरासले गोल गरे । नेपालका दिनेश राजवंशीले फउल गरेपछि पाएको पेनाल्टीमा साल्बायाले गोल गरेका हुन् । यस्तै ७८ औँ मिनेटमा अहमद एर्शन र ८८ औँ मिनेटमा बाहा फैसलले गोल गरेर जोर्डनलाई ३–० को जित दिलाए।
जितसँगै जोर्डनले तीन खेलबाट सात अंक जोडेको छ । नेपालको भने चार खेलबाट मात्रै तीन अंक छ । तीन खेलमा हार र एक खेलमा मात्रै नेपाली टोली विजयी भएको छ । नेपालले आउँदो नोभेम्बर १९ मा घरेलु मैदानमा कुबेतसँग प्रतिस्पर्धा गर्नेछ ।
जोर्डनभन्दा अघि नेपाली टोली अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो । त्यसअघिका खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो ।