‘पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्’

२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेकोमा असन्तुष्ठी व्यक्त गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको ‘दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले संचार माध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्ठी जनाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भाषा र संस्कृति नबिर्सन सचेत गराउनुभयो । उहाँले विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सदै गएको बताउनुभयो । विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषाप्रति उहाँले गम्भीर असन्तुष्ठी व्यक्त गर्नुभयो । ‘सभ्यताका पर्खालहरु बागमतीमा फालिए’, प्रधानमन्त्री ओलीको भन्नुभयो, ‘शिष्टता, मर्यादा केही पनि छैन, पत्रकारले बाउलाई पनि तपाईं भन्दैनन्, तिमी भन्दा माथि उठेर ।’

‘अग्रेजीको ‘यू’ लोभ लागेर, बालाई तपाईं भन्न गाह्रो लाग्यो किनभने डलरवाला, ‘यू’ वालाहरु ‘यू’ ले काम चलाउँछन्, सभ्यता त त्यो रहेछ भन्ने भ्रम पर्या छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सानालाई तिमी भन्ने ठुलालाई तपाईं भन्ने स्वभाविक हो, भाषा समाज र संस्कृतिको आफ्नो प्रचलन र मर्यादा हुन्छ ।’

उहाँले कला, संस्कृति र साहित्यमा नेपाल विश्वकै तुलनामा धनी भएकाले कला, संस्कृति, सभ्यता र साहित्यलाई सम्वर्द्धन गर्दे अघि बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

प्रधानमन्त्री ओलीले एसिया विकास र साहित्यको जननी भएकाले वास्तविक सुन्दर परम्परा र ऐतिहासिक सभ्यताको आधुनिक रुपमा विकास गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अन्तरहिमाली सांस्कृतिक एवंम् साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि प्रतिष्ठानले चीन र दक्षिण एसियाका साहित्यकारहरुको सम्मेलन गरेको हो । सम्मेलन कात्तिक ३ गतेसम्म चल्ने जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार