
२९ असोज, काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय निकाय सिंहदरबारभित्रै निजामती कर्मचारी अत्यधिक रुपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ ।
माथिल्लो तहबाट सशक्त अनुगमन नहुँदा कर्मचारीमा कुनै त्रास देखिँदैन । यस्तै समस्या अन्य सरकारी कार्यालयमा पनि छ । कर्मचारीमा कामचोर प्रवृत्ति मौलाउँदै जान थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयमा आकस्मिक छड्के जाँच गरेको छ ।
छड्के जाँचका क्रममा सयौं कर्मचारी बिनाजानकारी अनुपस्थित रहेको पाइएको समाचार राजधानी दैनिकमा छ । सतर्कता केन्द्रका अनुसार मन्त्रालयका कर्मचारीहरुले नै नियमको पालना नगर्ने गरेको पाइएको छ ।