
२८ असोज, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ । मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो ।
इटालियन निर्माण कम्पनी सीएमसी दि रिभेनाले अधुरो छोडेर बाँकी रहेको काम पूरा गर्न आयोजनाले नयाँ ठेक्का लगाएको थियो । यसमा चिनियाँ कम्पनी छनोट भई असोज १२ गते सम्झौतासमेत भइसकेको छ। आयोजनाले ठेकेदारसँग एक हप्ताभित्र कार्ययोजना पेस गर्न पत्राचार गरेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए ।
अहिले ठेकेदारहरूले कार्यक्षेत्र अवलोकन गरिरहेकाले फर्केर आएलगत्तै कार्ययोजना पाउनेमा विश्वस्त रहेको उनले बताए । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको यस आयोजनाले २७ किलोमिटर सुरुङमार्ग पार गर्दै काठमाडौं उपत्यकाबासीलाई मेलम्ची खोलाको पानी खुवाउने योजना छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।