२६ असोज, काठमाडौं । म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा जिप र बस ठोक्किँदा जिप चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी–१ का २१ वर्षीय रमेश थारु रहेको प्रहरीले जानकारी दिएको छ ।
बस र जिप एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका थारुको दमौलीमा उपचारको क्रममा आइतबार बिहान ८ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। प्रहरीका अनुसार सानो घुम्तीमा तीव्र गतिमा आएको दुवै सवारीसाधन एकापसमा ठोक्किएको हो ।
जिपको अगाडिको भाग पूर्ण रुपमा क्षति पुगेको छ। बस चालक घाइते भएकाले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। नवलपरासीबाट केरा बोकेर पोखरातर्फ जाँदै गरेको लु १ च ७०४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ४०२२ नम्बरको बस ठोक्किएको हो ।