
२६ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चीनका राष्ट्रपति सी चिनफिङ शनिबार साँझ काठमाडौं आइपुग्नुभएको छ । २३ वर्षपछि चीनबाट राष्ट्रपतिस्तरको भ्रमण भएको हो ।
यसअघि सन् १९९६ मा जियाङ जमिनले नेपाल भ्रमण गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सीको काठमाडौंमा भव्य स्वागत गरिएको छ । दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमै ‘गार्ड अफ अनर’ अर्पण गरिएको थियो । नेपाली सेनाले सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
साँझ ६ः३० बजे दुई राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । राष्ट्रपति निवास शीतल निवासमा दुई पक्षीय प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । सीले राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुअघि नेपाली कांग्रेसका सभापति शेरशबहादुर देउवालाई केही मिनेट भेट्नुभएको थियो । चन्नाईमा लन्च गरेर चीनका राष्ट्रपति सी काठमाडौं आउनुभएको थियो । राजधानी दैनिकले खबर छापेको छ ।