
२४ असोज, सिड्नी । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुने एनआरएनए विश्व सम्मेलनमा अस्ट्रेलियाबाट होम पाण्डेले ओसेनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । सो पदमा यसअघि अस्ट्रेलियाबाटै दिनेशराज जोशीले पनि उम्मेदवारीको घोषणा गरिसकेका छन् ।
सूचना प्रविधि विशेषज्ञका रूपमा अस्ट्रेलियाको प्रतिष्ठित बैंक कमनवेल्थ बैंकमा सिनियर प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत पाण्डे स्थापना कालदेखि नै एनआरएनए अस्ट्रेलियामा संलग्न छन् ।
एनआरएनए अस्ट्रेलियाको आईटी सिस्टम स्थापनाको क्षेत्रमा विशेष भूमिका खेलेका पाण्डेले अस्ट्रेलियामा पहिलोपटक विद्युतीय मतदान सुरु गर्ने कामको नेतृत्व गर्दै विगत सात वर्षदेखि लगातार यस प्रविधिको प्रयोजनमा मेरो संलग्न रहँदै आएका छन् ।
देश सञ्चारसँग कुरा गर्दै पाण्डेले भने, ‘मैले न्यूसाउथवेल्स राज्यको चुनाव आयुक्त भएर सफलतापूर्वक चुनाव सम्पन्न गरेको छु । विगत दुई वर्षमा ओसेनिया क्षेत्रमा नलेज कन्फरेनस र रिजनल मिटिङ र अस्ट्रेलिया तथा न्युजिल्याण्डको एनसिसी निर्वाचनमा पनि मैले विशेष भूमिकाको साथ काम गरेको छु ।’
एनआरएनए सँगको विगत लामो समयदेखिको संलग्नता र एक प्राविधिकको हैसिएतले ओसिनिया क्षेत्रका हजारौँ नेपालीहरूको भावनालाई कदर गर्दै रिजनल संयोजक भएर आफूले सिकेको ज्ञान, सीप र दक्षताको आधारमा नेपाल र यहाँका नेपाली समुदायको हितमा केही योगदान गर्नका लागि मैले रिजनल कोर्डिनेटरको रूपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ, यसमा सबै मतदाताले मलाई सहयोग गर्नुहुनेछ ।’