१८ असोज, काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन प्रणाली हाललाई स्थगन गरेको छ। भारतीय आयल कर्पोरेशन लिमिटेड आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर तीन दिन अघि नै नयाँ मूल्य सूची पठाइसकेको छ । तर नेपाल आयल निगमले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी मूल्य समायोजन नगरिएको जनाएको छ ।
‘चाडपर्वमा सर्वसाधारणको हितलाई मध्यनजगर गरी हाललाई निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको बिक्री मूल्यलाई नै यथावत राखेको छ’ निगमले विज्ञप्ति जारी गर्दै भनेको छ । जसअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ, डिजेल मट्टितेल ९५ रुपैयाँ यथावत रहेको छ । यस्तैगरी हवाई इन्धन आन्तरिकतर्फ ९४ रुपैयाँ ५० पैसा र बाह्यतर्फ प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्याँस प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ नै रहेको छ ।
भारतीय आयल कर्पोरेशनले यही अक्टोबर १ मा पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ६ पैसा, डिजेल ३ रुपैयाँ ६३ पैसा, मट्टितेल २ रुपैयाँ ६२ पैसा, हवाई इन्धन प्रतिलिटर २ रुपैयाँ ६४ पैसा, तथा एलपी ग्याँस प्रतिसिलिन्डर १५ रुपैयाँ ९८ पैसाले बढाएर नयाँ खरिद मूल्य सूची पठाएको थियो । नेपाल आयल निगमले चाडपर्वका समयमा इन्धनको कुनै अभाव नहुने पनि स्पष्ट पारेको छ । निगमको ३ नम्बर प्रादेशिक कार्यालय थानकोटले शुक्रबार प्रेस विज्ञप्तिमार्फत निगमको ढुवानी सम्झौतामा रहेका ट्यांकरमा पनि पेट्रोलियम पदार्थ भरी अवस्थामा रहेको भन्दै बजारमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी गराएको हो ।
छुट्टीका दिनमा पनि अभाव हुन नदिन निगमका कर्मचारी तयारी अवस्थामा रहने भएकाले ढुक्क भएर आवश्यकता अनुसार पेट्रोलियम पदार्थ खपत गर्न कार्यालय प्रमुख इन्जिनियर बिनित मणि उपाध्यायद्बारा जारी विज्ञप्तिमा भनिएको छ ।