१६ असोज, काठमाडौं । चेल्सीले च्याम्पियन्स लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा चेल्सी पराजित भएको थियो । समूह एच मा रहेको प्रिमियर लिग क्लब चेल्सी बुधबार राति भएको दोस्रो खेलमा भने विजयी भयो ।
अवे मैदानमा भएको खेलमा चेल्सीले लिलेलाई २–१ ले पराजित गरेको हो । २२ औँ मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । भिक्टर ओसिमहेनले ३३ औँ मिनेटमा लिलेका लागि बराबरी गोल गरे । ७७ औँ मिनेटमा विलियनले गोल गर्दै चेल्सीको जित निश्चित गरेका हुन् ।जितपछि दुई खेलबाट तीन अंक जोडेको चेल्सी समूहको तेस्रो स्थानमा छ ।
सोही समूह अन्तर्गत बुधबार राति नै भएको खेलमा डच क्लब अजाक्सले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ । लगातार दोस्रो जित निकालेको अजाक्स ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । तीन अंक भएको भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ ।
बुधबार राति नै भएको समूह जी अन्तर्गतको खेलमा लियोनले आरबी लेइप्जिगलाई २–० तथा जेनिट सेन्ट–पिटर्सबर्गले बेन्फिकालाई ३–१ ले पराजित गरेको छ ।