१३ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ दल नेकपालाई आफूलाई नजिस्काउन चेतावनी दिएको छ ।
आइतबार पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको विरोधको कांग्रेसले विज्ञप्ती निकाल्दै लोकतान्त्रिक आन्दोलनको मियो कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेकपालाई चेतावनी दिएको हो ।
‘फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपाका कार्यकर्ताको अधिनायकवादी चरित्र घोर निन्दनीय र आपत्तीजनक छ’ कांग्रेसद्धारा जारी विज्ञप्तिमा भनिएको छ । सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको भन्दै कांग्रेसले ‘मण्डलेशैली’ नरोके आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएको छ।