
११ असाेज, काठमाडौं । सिंगापुरमा सुरु भएको त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार जिम्बावेविरुद्ध भएको खेलमा नेपाल ५ विकेटले पराजित भयो ।
नेपालले दिएको एक सय ३३ रनको लक्ष्य जिम्बावेले १८ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो। जिम्बावेका रायन बर्ल र रिचमन्ड मुतुम्बमीले शानदार प्रदर्शन गरे। जिम्बावे ६४-५ को स्थितीमा देखिएका बेला यी दुई ब्याट्सम्यानले विस्फोटक ब्याटिङ गरे। बर्ल र मुतुम्बमीबीच छैटौँ विकेटका लागि ६९ रनको साझेदारी भयो। बर्लले ४१ र मुतुम्बमीले ४० रन बनाए।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए। पारस खड्काले एक विकेट हात पारे। सन्दीपले चार ओभरमा केवल १५ रन दिए। जिम्बावेले १९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। दोस्रो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले विकेट लिए।
चौथो ओभरको पहिलो बलमै सन्दीपले पुन विकेट हात पारे। सोही ओभरको अर्को बलमा सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए। सन्दीपले आउट गरेका तीनै जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। पारसले १० औँ ओभरको अन्तिम बलमा बोल्ड आउट गर्दै विकेट हात पारेका हुन्। उनले २७ रनको साझेदारी तोडेका थिए। तर त्यसपछि बर्ल र मुतुम्बमीले उत्कृष्ट साझेदारी गरे।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।
यसअघि नेपालको पालीमा दीपेन्द्र सिंह एेरीले सर्वाधिक ४० रन बनाए। कप्तान पारस खड्का १८ र सन्दीप जोरा १७ रनमा आउट भए। ओपनर इशान पान्डेले चार र आरिफ शेखले ८ रन बनाए। कुशल मल्लले दुई रनमात्र जोड्न सके।
पाँच रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि दोस्रो विकेट ३२ रनमा गुमाएको थियो। पारस तेस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ३८ रन थियो। सन्दीप र दीपेन्द्रले पाँचौँ विकेटका लागि ३४ रनको साझेदारी गरे।
अन्तिम समयमा सोमपाल कामी र विनोद भन्डारीले गतिलो साझेदारी गरे। अविजित रहँदै सोमपालले २५ र विनोदले ११ रन जोडे। यी दुईले सातौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। सोमपालले १४ बलमा तीन छक्का प्रहार गरे। विनोदले भने १२ बल सामना गरेपनि एउटा मात्र चौका हिर्काउन सके।
दीपेन्द्रले ३३ बलमा पाँच चौका हिर्काए। पारसले २२ बलमा तीन चौका प्रहार गरे। नेपालको पालीमा सोमपालले मात्र छक्का प्रहार गर्न सके। १८ औँ ओभरको चौथो बलमा उनले नेपालको पालीको पहिलो छक्का प्रहार गरेका थिए। नेपालले अन्तिम ओभरमा १७ रन जोड्यो। सोमपालले उक्त ओभरको सुरुका दुई बलमा छ्क्का प्रहार गरेका थिए। दोस्रो बल भने नो बल भएको थियो।