
८ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैँकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ ।
सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई विवरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको हो । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको खबर कारोबार दैनिकमा छ ।
यसअघि बैँकहरुले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको हो । जथाभावी रुपमा सिमकार्डहरुको खरीद, बिक्री तथा वितरण गर्ने कार्यले गर्दा फोनमार्फत हुने आपराधिक गतिविधि बढेको हुँदा प्राधिकरणले केवाईसी अनिवार्य गर्न लागेको हो ।