७ असोज, सिड्नी । अस्ट्रेलियामा नयाँ शक्ति समर्थित संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (आइएनएस) र समाजवादी फोरम समर्थित संगठन नेपाली संघीय समाज अस्ट्रेलिया (एनइएफएएसओ) बीच एकता सम्पन्न भएको छ। समायोजनपश्चात् गठित संस्थालाई नेपाली समाज अस्ट्रेलिया नामाकरण गरिएको छ।
यही सेप्टेम्बर २१ तारिख शनिबारका दिन सिड्नीको ६४–६८ प्रिन्सेस स्ट्रिटस्थित एसबरी सिनियर सिटिजन सेन्टरमा आयोजित कार्यक्रममा सो समायजन घोषणा सभा तथा प्रथम सम्मेलनलाई टेलिकन्फ्रेन्समार्फत् पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ खुवाएका थिए।
सम्बोधनका क्रममा डा. भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछाहरू समात्न नसकेको सन्दर्भमा एउटा जनताप्रति सिधै उत्तरदायी हुने खालको लोकपालको व्यवस्था गर्न जरुरी रहेको बताए जसलाई प्रधानमन्त्री, प्रधानन्यायधिश, प्रधानसेनातापति लगायतका जोसुकैले पनि भ्रष्टाचार गरेको खण्डमा कारवाही गर्न सक्ने अधिकार दिइयोस्।
डा. भट्टराईले अगाडि भने, ‘नेपाललाई अहिलेको अल्पविकसित तेश्रो विश्वको स्तरबाट पहिलो विश्वमा पुर्याउने हो भने आगामी दुई दशकमा प्रत्येक वर्ष दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा एकीकृत ढंगले विकास गरेर आर्थिक वृद्धिमा जोड दिनुपर्छ। सँगसँगै उत्पादित वस्तुलाई न्यायपूर्ण ढङ्गले वितरण गर्न पनि हामीले व्यवस्था गर्नुपर्दछ।’
‘भौतिक सुखलाई मात्र नभएर आत्मिक सुखलाई पनि ध्यान दिनका लागि वृद्धि, वितरण, विलोपन र खुशीपनसहितको विकासको मोडेल हामीले अगाडि सारेका छौं । यसैको जगमा निर्माण हुने समाजवाद नै समुन्नत संघीय समाजवाद हुन्छ । हाम्रो सपना छ, देशलाई हाम्रै जीवनकालमा अस्ट्रेलिया, सिंगापुर, चीन, कोरिया जत्तिकै स्तरमा पुर्याउन सकियो भने आफ्नो इच्छाअनुसार जोकोही जहाँ पनि बस्न सक्छ तर बाध्य भएर कोही पनि नेपाली विदेश जान नपरोस् भन्ने बनाउन हामी चाहन्छौं,’ डा. भट्टराईले सम्बोधनका क्रममा बताए ।
सो सम्मेलनले नेपाली समाज अस्ट्रेलियाको अध्यक्षमा गणेश तामाङ, उपाध्यक्षमा सुमन खरेल, उपेन्द्र श्रेष्ठ, बीरबहादुर राई, शोभा श्रेष्ठ, महासचिवमा सन्तोष आचार्य, सचिवमा उमेश शाह, कोषाध्यक्षमा कृष्ण कार्की, सहकोषाध्यक्षमा अनिल बस्नेत, प्रवक्तामा गौतम बाबु तिवारी, पब्लिक अफिसरमा अभिषेक कुमार झा, युवा संयोजकमा विशाल खड्का, महिला संयोजकमा सुजता पाण्डे गौतम, विद्यर्थी संयोजकमा भूमिका लामा, साहित्यिक संयोजकमा टंक रिमाल, न्यु साउथ वेल्स संयोजकमा महेश भट्टराई, भिक्टोरिया संयोजकमा बुद्व मोक्तान, क्वीन्सल्याण्ड संयोजकमा अमित शर्मा, तास्मानिया संयोजकमा सुरज श्रेष्ठ तथा पश्चिम अस्ट्रेलिया संयोजकमा सीताराम पन्तलाई निर्वाचित गरेको छ ।
त्यसैगरी सल्लाहकारमा सुन्दोर्जे तामाङ, अरुणकुमार तामाङ, कमला पोखरेल, पुरन सायमी, संरक्षण समितिमा विनोद पौडेल, सुवान चौलागाईँ, समीम अनवर, चित्र तुम्बाहाम्फे, घनेन्द्र फियाक र तीर्थराज कार्कीलाई निर्वाचित गरेको छ।
सुवान चौलागाईं र गणेश तामाङको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई समाजका अगुवाहरूले शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन सन्तोष आचार्यले गरेका थिए।