७ असोज, काठमाडौँ । सी जिनपिङ विचारधारा सम्बन्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठी काठमाडौँमा सुरु भएको छ। गोष्ठी याक एण्ड यति होटलमा सोमबार साँझ सुरु भएको हो।
कार्यक्रम उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमले विचारधाराका हिसाबले हामी कसरी अघि बढ्दै छौँ भन्ने जान्नका लागि सहयोग गर्ने बताए।
प्रधानमन्त्री ओलीले सी जिनपिङले अघि सारेको विचारधाराले चीनलाई अझ विकसित र उन्नत बनाउने बताए। साथै उनले सन् २०३५ सम्ममा विकसित देश बनाउने र सन् २०५० सम्ममा उच्चतम विकासको अवस्थामा पुग्ने चीनको लक्ष्यलाई सीको विचारले सफलता मिल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल चिनसँग पारस्परिक हितका आधारमा अघि बढ्न चाहेको बताए। ‘हामी मित्रतालाई पारस्परिक हितका आधारमा अगाडि बढाउन चाहन्छौँ’, ओलीले भने,‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ। हामी नेपालको आकाश वा जमिन चीनको विरुद्ध प्रयोग हुन दिँदैनौँ।’
प्रधानमन्त्री ओलीले अगाडि थपे, ‘हामीले आन्तरिक मामिलामा अहस्तक्षेपको नीति लिएका छौँ। चीन शक्तिशाली देश भएर पनि कमजोर देशमाथि थिचोमिचो गरेको छैन। यो चीनको महत्वपूर्ण पाटो हो।’
यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध भएकोमा जोड दिए। उनले भने, ‘नेपाल शब्दमा मात्रै नभई व्यवहारमा पनि एक चीन नीतिप्रति प्रतिवद्ध छ।’
साथै प्रचण्डले यस्ता विचार गोष्ठीले दुई देशबीचमा उच्चस्तरको भ्रमण आदान प्रदानमा सहयोग पुग्ने भन्दै यसबाट दुई देशबीचको सम्बन्ध अझ मजबुत हुने बताए।
सी जिनपीङको विचारधाराको रुपमा अघि आएको बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई)ले नेपालको सडक विस्तार, कृषिको आधुनिकरणलगायत अन्य क्षेत्रमा पनि फलदायी हुने प्रचण्डले भनाइ छ। ‘विकासको चाहना भएका तर स्रोत साधन नभएका देशहरुका लागि बिआरआईले सहयोग गर्छ’, उनले भने।
चीनमा कम्युनिष्ट पार्टीको सफलताका पछाडि यसका नौ करोड सदस्यको अनुशासन रहेको बताउँदै प्रचण्डले भने, ‘यदी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु सुख सुविधातर्फ लागे भने उनीहरुले शासन गर्ने वैधता गुमाउँछन्।’
यस किसिममा सैद्धान्तिक प्रशिक्षणले एकअर्काबाट सिक्ने र आफ्नो मौलिकता अनुसारको समाजवाद स्थापना गर्नका लागि सहयोग पुग्ने प्रचण्डले विश्वास व्यक्त गरे।
यस्तै कार्यक्रममा बोल्दै नेकपा स्कुल विभाग प्रमुख एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको विआरआई अवधारणा राजनैतिक, आर्थिक परियोजना मात्रै नभएर मानव जातिको उत्थानका लागि भएको बताए।
नेपाल सरकारले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली योजनालाई समेत यसले सहयोग पुग्ने पोखरेलले दावी गरे।
यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले यस्ता विचार गोष्ठीले एक अर्काको अनुभव आदान प्रदान र समाजवाद स्थापनाका लागि सहयोग पुग्ने बताए।
उनले भने, ‘यस्ता कार्यक्रमले एक अर्काको अनुभव आदान प्रदान गरेर बढीभन्दा बढी कसरी जनताको पक्षमा काम गर्न सकिन्छ भन्नेमा टेवा पुग्नेछ।’
उक्त विचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रममा पाँचवटा सत्र रहेको नेकपा स्कुल विभागका उपप्रमुख देवेन्द्र पौडेलले जानकारी दिए।
पौडेलका अनुसार पाँचमध्ये एउटा सत्र सामबार नै हुनेछ भने बाँकी चारवटा सत्र मंगलबार हुनेछन्।
सोमबार साँझको विचार गोष्ठीको उद्घाटन सत्रमा बोल्दै दुबै पक्षका नेताहरुले मार्क्सवादलाई बुझ्ने र प्रयोग गर्ने सवालमा एकअर्काबीचको अनुभव साटासाट गर्न गोष्ठी उपयोगी हुनेमा विश्वास व्यक्त गरेको पौडेलले जानकारी दिए।
उक्त विचार गोष्ठमा सहभागि हुन चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ सोमबार मात्रै काठमाडौँ आइपुगेका थिए।
तीन दिनका लागि नेपाल भ्रमणमा आएका सङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई भेट्ने कार्यक्रम रहेको छ।