४ असोज, बाजुरा । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला सहसचिव दानबहादुर खड्का ९किशोर० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
बूढीगङ्गा नगरपालिका–७ झालबाट विप्लव समूहको सङ्गठन विस्तार र पार्टीको प्रचार गर्दै गरेको गोप्य सूचनाका आधारमा भदौ २७ गते जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेका खड्का शुक्रबार नेकपामा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेत्रविक्रम चन्द (विप्लव) समूहको स्पष्ट कार्यदिशा, राजनीतिक, वैचारिक धरातल नभएका कारण उक्त पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको खड्काले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेपछि मुद्दा खेपिरहेका खड्का एकाएक नेकपामा प्रवेश गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले नेत्रविक्रम चन्द (विप्लव) समूह परित्याग गरी अन्य पार्टीमा प्रवेश गरेपछि विप्लव समूहमा नरहेको क्षेत्र र केन्द्रमा जानकारी पठाउने बताए ।