४ असोज, काठमाडौं । शुक्रबार दिउँसो चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक गरियो । चलचित्र टीमले पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक गर्यो । ट्रेलर रिलिज कार्यक्रममा ट्रेलरको भन्दा पनि बढी चलचित्र क्षेत्रमा भइरहेको राजनीति र यसले नेपाली सिनेमा क्षेत्रमा पारेको असरको चर्चा भयो । कार्यक्रममा चलचित्रका निर्माता दीपकराज गिरीले नेपाली चलचित्र क्षेत्रमा भइरहेको राजनीतिले जो कोहीले नेपाली बजारमा सिनेमा रिलिज गर्न नसक्ने बताए ।
‘श्राद्ध गर्न भन्दा सिदा पु्र्याउन गाह्रो भनेझैँ नेपालमा सिनेमा बनाउन भन्दा रिलिज गर्न असाध्यै पापड बेल्नुपर्छ’, उनले भने, ‘सिनेमामा प्रतिस्पर्धा हुनु राम्रो भएता पनि त्यो प्रतिस्पर्धा स्वस्थ्य हुनु जरुरी छ ।’ कार्यक्रममा उनले आफ्नो गतवर्ष चलचित्रको ‘छक्का पञ्जा ३’ रिलिज गर्नलाई पापड बेल्नुपरेको अनुभव सुनाए । ‘हामीले गतवर्ष तितो अनुभव बोकेका छौं । यद्यपि सिनेमाले रेकर्ड राख्यो, तथापि सिनेमाको सबै शोहरु हाउसफुल हुँदाहुँदै हामीले धेरैवटा शोहरु गुमाउनु पर्यो’, उनी भन्छन्, ‘सिनेमा क्ल्यासले पारेको असर हामीलाई नजिकबाट थाहा छ । तर वर्षमा एउटा फिल्म बनाउन मजस्तो निरिह निर्माताले यसविरुद्ध लड्न सक्दिन । यो अर्को तितो यथार्थ हो ।’
‘संसारभरी नै शोहरु हाउसफुल भयो भने अन्य शो थपिन्छ तर हामी यति निरिह प्राणी हौ, शोहरु हाउसफुल भएर आधा शो गुमायौं,’ उनले अझै थपे, ‘मलाई नेपाली वा हिन्दी सिनेमासँग डर लाग्दैन, मलाई सिनेमाको राजनीति गर्नेहरुसँग डर लाग्छ ।’ तपाईंमाथि पनि राजनीति गर्यो भन्ने आरोप छ नी भन्ने प्रश्नको उत्तरमा दीपकले आफूले प्रतिरक्षात्मक राजनीति गरेको उल्लेख गरे ।
चलचित्र ‘कबड्डी ३’ चलेकोमा बधाई दिँदै दीपकले वर्षमा एउटा मात्र सिनेमा चल्यो भने त्यै चलचित्रले मात्र सबै राजनीति सहनुपर्ने बताए । तर वर्षमा तीन वा चारवटा फिल्म चलेमा त्यो राजनीति विभाजन हुने उनको तर्क छ ।
उनले असोज १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’ सँगै निर्देशक अशोक शर्मालाई शुभकामना दिएका छन् । साथै उनले आफूहरुबीच पोहोरको भन्दा भावनात्मक सम्बन्ध रहेको पनि भन्न भ्याए । गतवर्ष दशैँमा दीपक–दीपाको चलचित्र ‘छक्का पञ्जा ३’ र अशोक शर्माको चलचित्र ‘जय भोले’ को रिलिज मितिको विषयलाई लिएर लामो समय बहस भएको थियो । अशोक शर्माको छोराले चलचित्रमा डेब्यु गर्न लागेको पनि आफूहरु उहाँप्रति भावनात्मक भएको दीपकले बताए । ‘एउटा चलचित्रकर्मीको छोराले डेब्यु गर्नु भनेको भावनात्मक कुरा पनि हो’, उनले भने, ‘चलचित्र रिलिजको लागि छोरालाई बोकेर आएको बाआमासँग झगडा गर्नुहुँदैन ।’
हरेक वर्ष दशैँको मिति खोजेता पनि आफूहरुले एक वर्षमात्रै दशैँमा रिलिज गर्न पाएको उनको भनाइ छ । ‘यहाँ धेरैले कुरा गरेको सुन्छु दीपक–दीपालाई दशैँ नै किन चाहियो भनेर । तर, हामीले अहिलेसम्म एउटा फिल्ममात्रै दशैँमा लगाएका छौँ, त्यो हो ‘छक्का पञ्जा २’ ।’ उनले भने ।
फरक प्रसङ्गमा दीपकले यदि आफूले पनि हल सञ्चालकहरुको चाकरी गर्न गएको भए अरुले भन्दा बढी शो पाउने खुलासा गरेका छन् । ‘तर, हामीले पनि त्यस्तै गर्न थाल्यौँ भने चलचित्र क्षेत्रमा भएको विकृती र बिसङ्गतीलाई कसले उठाइदिने ?’ उनले प्रश्न गरे ।
कार्यक्रममा उनले नेपालमा विदेशी सिनेमाको सेन्सर रातारात हुँदा नेपाली सिनेमाको सेन्सरको लागि धेरै समस्या झेल्नुपरेकोमा दुःख व्यक्त गरे । ‘भारतबाट फिल्म आयो, बिहान सेन्सर गर्यो, भोलिपल्ट हलमा लाग्यो, कति सजिलो ? हामी कुनै राज्य हो ? देश हो की राज्य हो ? हाम्रो फिल्म उता जानलाई त अंग्रेजी स्क्रिप्ट चाहिन्छ ।’
उनले थपे, ‘हिन्दी वा विदेशी सिनेमालाई समान हैसियत, समान थिएटर, समान माया गरिन्छ भने म नेपालमा छु की भारतको मजमपुरमा छु सोच्न बाध्य हुन्छु । यस्तो आवाज सधैँ जारी रहन्छ, यदि यस्तै आवाज उठाएको नाममा पेलिन्छ भने छिट्टै चलचित्र क्षेत्रमा पनि गोविन्द केसीको जन्म हुनेवाला छ ।’ आफूले अनसन पनि बस्न सक्नेप्रति दीपकको संकेत छ । ‘भारतीय फिल्मको सेन्सर रातारात हुँदा नेपाली फिल्मको सेन्सरको लागि ५० औं कागजात किन हेरिन्छ ?’ उनले फेरि दोहोर्याए, ‘म भारतको मजमपुरमा छु की काठमाडौंमा ?’
दीपकले भने, ‘यहाँ एउटा क्रान्तिको जरुरी छ । नेपाली फिल्म उद्योग धरासायी हुनुमा आफ्नो फिल्म धमाधम चलाएर घर गएर हो । यहाँ भएको कुप्रथाको बारेमा बोल्न जरुरी छ ।’