३० भदौ, काठमाडौं । शनिबार साँझ नेपालगन्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको जहाजभित्र पर्यटनमन्त्री योगेश भट्टराईलाई ‘र्याखर्याख्ती’ बनाएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा लिएको छ।
उनलाई अभद्र व्यवहारको अभियोगमा हिरासतमा लिइएको ललितपुर प्रहरीले जानकारी दिएको छ। दिनभरि प्रहरी नियन्त्रणमा रहेका शाहीलाई आइतबार अबेर राति हिरासतमा लिइएको हो।
ललितपुरमा आइतबार दिउँसो शाहीले आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीमाथि आक्रमण भएपछि तत्कालै प्रहरीले उनलाई उद्धार गरी जावलाखेलस्थित जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो।
शनिबार साँझ नेपालगन्ज विमानस्थलमा मन्त्री भट्टराईका कारण एक घन्टा विमान उड्न ढिलो भएको भन्दै शाहीले बुद्ध एयरभित्रै मन्त्री भट्टराईविरुद्ध दुर्व्यवहार गरेका थिए। यसै विषयमा शाही आइतबार ललितपुरको पुल्चोकमा रहेको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै थिए।