
२९ भदौ, काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले एकअर्कालाई कारबाही गरी पदबाट बर्खास्त गरेको प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
एकअर्काको कार्यशैलि गलत भएको र गरिएका निर्णयहरु अवैध भएको भन्दै दुवैबीच गरिएका आरोपप्रत्यारोपले चरम रुप लिँदा तरुण दलमा यस्तो अवस्था सिर्जना भएको तरुण दलका एक नेताले बताए ।
अध्यक्ष बस्नेतले महासचिव शाहीले अनुशासनहीन काम गरेको आरोप लगाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका थिए ।
त्यसलगतै शाहीले पनि बस्नेतलाई एक वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका थिए । शाहीले बस्नेतलाई बाढीपीडितका लागि संकलन गरिएको रकम हिनामिना गरेको तथा केन्द्रीय समिति विस्तार नगरेएको आरोप लगाएका छन् ।