
२९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा एकल नेतृत्वको माग गरेका छन् । अर्का अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा दाहालले एकल नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।
संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत समेत गरे ।
पूर्व एमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष दाहालले जननेता मदनभण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्वएमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह गरे ।
‘जननेता मदन भण्डारी एउटा कम्युनिष्ट पार्टीको महासचिव हुनुहुन्थ्यो, म अर्को पार्टीको,’ अध्यक्ष दाहालले भने,‘उमेर म उहाँजति नभएपनि हाम्रो दर्जा उस्तै थियो । त्यहाँदेखि अहिलेसम्म मेरा क्रियाकलाप र गतिविधि नियाल्न म यहाँहरूलाई आग्रह गर्दछु ।’ समाचार नागरिक दैनिकमा प्रकाशित छ ।