
२९ भदौ, काठमाडौं । दशैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा राजमार्गको अवस्थामा सुधार भएको छैन ।
ठाउँ–ठाउँमा सडक विस्तार भइरहेकाले र निरन्तरको वर्षातको कारण सडक तथा राजमार्ग भत्किएका छन् भने सडकभरि खाल्डाखुल्टी परेर दयनीय बन्न पुगेको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाका थानकोटको सडकखण्डमा खाल्डाखुल्डी देखिएका छन् । कलंकीबाट बाहिरिने अर्को नाका झक्तपुरसम्म राम्रो भए पनि बनेपा पार भएसँगै खाल्डाखुल्टीले सडक भरिएका छन् ।
बल्खुदेखि हेटौंडा निस्कने सडकखण्डको ठाउँ–ठाउँमा पिच उप्किएको छ भने सडकभरि खाल्डाखुल्डी छन् । सडकको अवस्था राम्रो नहुँदा वर्षेनी दुर्घटना भएका छन् । सयौंले ज्यान गुमाएका छन् । नाजुक सडक, क्षमताभन्दा बढी यात्रु राख्नाले चाडपर्वमा घर जाने सोच बनाएका मानिसहरूको यात्रा असहज हुने गरेको छ ।
यस वर्षको दशैं, तिहार, छठ जस्ता महत्त्वूर्ण चाडमा असहजता दोहोरिने भएको छ । समाचार राजधानी दैनिकमा छ ।