२० भदौ, काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको खेलमा नेपालले कुवेतसँग नराम्रो पराजय व्यहोरेको छ ।
गएराति भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतको घरेलु मैदानमा ७–० गोलको नमिठो पराजय व्यहोरेको हो । जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा खेलको छैटौं मिनेटमै युसुफ अल सलमानको गोलमार्फत अग्रता बनाएको कुवेतका लागि फाहाद अल हाजेरीले १३ औं मिनेटमा गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा नेपालले थप ५ गोल खायो । ५० औं मिनेटमा सलमानले नै व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको ९ मिनेटपछि अब्दुल्लाह मावीले गोल थपेर कुवेतलाई ४–० को अग्रता दिलाए । ६७ औं मिनेटमा बदर अल मतवाले पाँचौं गोल गरे । अन्तिम दुई गोल भने थपिएको समयमा भयो । ७ मिनेट थपिएको इन्ज्यूरी समयको चौथो मिनेटमा रेदा हानी र सातौं मिनेटमा हुसेन अल मोसावीले कुवेतका लागि गोल गरे ।
कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ मा रहेको नेपालको विश्वकप छनोट यात्रा कठिन मोडमा पुगेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैकै मैदानमा खेल्नेछ । कुवेतसँगको खेल नेपालको घरेलु मैदानमा हुनुपर्ने भए पनि मैदान अभावका कारण कुवेतकै मैदानमा भएको थियो ।