१७ भदौ, सिड्नी । मोना (म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसन)द्वारा आयोसजित पहिलो खेलकुद तथा संगीत महोत्सव सिड्नीको लिडकमस्थित वायाट पार्कमा सम्पन्न भएको छ।
महोत्सवमा फुटबल, बास्केटबल तथा पुरुष र महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो भने नेपालका चर्चित कलाकारहरू सुगम पोखरेल, शिव परियार, गगन पुन, तृष्णा पुन लगायतका स्थानीय कलकारहरूले आ-आफ्ना सांगीतिक प्रस्तुतिहरू पेश गरेका थिए।
सिड्नी र मेलबर्नका गरी १० टिमको सहभागिता रहेको पुरुष भलिबलतर्फ छन्त्याल परिवारलाई फाइनलमा पराजित गर्दै ढोरपाटन क्लब विजेता बनेको छ। साथै, महिला भलिबलतर्फ जलजला परिवारलाई हराउँदै मोना अस्ट्रेलियाले उपाधि जितेको छ।
त्यसैगरी ८ वटा टिमको सहभागिता रहेको बास्केबल प्रतियोगितामा थकाली सेवा समितिलाई फाइनलमा पराजित गर्दै मोना अस्ट्रेलिया टिम विजेता बनेको छ भने १२ वटा टिमको सहभागिता रहेको फुटबल प्रतियोगितामा वेष्ट युनाइटेडलाई पराजित गर्दै माचापुच्छ्रे क्लब विजेता बनेको छ।
मोना अस्ट्रेलियाका अध्यक्ष मुक्ति रोक्काले खेल र संगीतलाई एउटै स्थलमा राखेर सम्पूर्ण खेलप्रेमी तथा संगीतप्रेमीलाई एकजुट बनाउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको देशसञ्चारलाई बताए।
उनले भने, ‘युवा पुस्तालाई खेलकुद र संगीतमार्फत् भाइचारा र आपसी सद्भाव वृद्धि गर्ने तथा नेपाली संस्कृतिको जगेर्ना गर्ने समेत यो महोत्वको उद्देश्य थियो । त्यसमा हामी सफल भएका छौं। त्यसका लागि महोत्सवमा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छौं।’
विजयी खेलाडीहरूलाई पुस्कार वितरणपश्चात् शुरु भएको सांगीतिक कार्यक्रम अपराह्न ४ बजेदेखि ९ बजेसम्म चलेको थियो। निःशुल्क प्रवेशको व्यवस्था गरिएको सो महोत्सवमा नेपाली खानेकुराका विभिन्न परिकारहरू पनि राखिएको थियो। महोत्सवमा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।