
१७ भदौ, एजेन्सी । विश्वका सबैभन्दा महंगा फुटबलर नेइमारले हुने र भए–पुगेसम्मको बल लगाए पनि उनी तत्कालका लागि पेरिस सेन्ट–जर्मेन (पिएसजी) कै जर्सीमा हुने भएका छन् ।
युरोपियन ट्रान्सफर विण्डो समाप्त भएसँगै नेइमारको सम्भावित पिएसजी बहिर्गमन या बार्सिलोना फिर्ती टरेको छ । लोमो समय नेइमार बार्सिलोना फर्किने सम्भावनाको चर्चा चल्यो ।
बार्सिलोना पनि प्रस्ताव गर्यो । तर त्यसमा सहमति जुड्न सकेन । दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमारको मन त्यहाँ बसेको छैन । उनी फेरि बार्सिलोना फर्किन चाहेका थिए । बार्सिलोना नभए रियल मड्रिड या युभेन्टस उनको विकल्प हुने बताइयो ।
रियल मड्रिडले पनि उनका लागि प्रस्ताव गरेको थियो । तर नेइमार भने आफ्ना मिल्ने साथी लियोनल मेस्सी रहेको बार्सिलोना नै फर्किन चाहन्थे । त्यसैले गर्दा उनले बार्सिलोना तर्फ नै जोड दिए। तर निरन्तरको प्रयासका बाबजुद पनि नेइमार पिएसजीकै खेलाडी बनिरहे ।
पिएसजीका अध्यक्ष नासिर अल–खलिफी नेइमारका लागि विश्व कीर्तिमानी मूल्य ३०० मिलयन युरो पाए मात्रै जान दिने पक्षमा थिए, जसले गर्दा सहमति हुन सकेन ।
पिएसजीमा रमाउन नसकेका नेइमारमा त्यहाँबाट बाहिरिएर बार्सिलोना फर्किने हुटहुटी भने मेस्सीले पसालेको बताइएको छ । मेस्सीले गरेको एक टेक्स म्यासेजका कारण नेइमार बार्सिलोना फर्किन लालायित भएको बताइन्छ ।
एल’इक्वीपेका अनुसार यो समरको सुरुमा नेइमार पिएसजी छोड्ने मनसायमा रहेको थाहा पाएपछि मेस्सीले उनलाई ‘हामीलाई च्याम्पियन्स लिग पुनः जित्नका लागि तिमी चाहिएको छ’ भनेर लेखेका थिए । त्यसपछि मेस्सीले बार्सिलोना अधिकारीसँग नेइमारलाई ल्याउन अपिल गरेको बताइन्छ ।
तर केही महिनाको प्रयास र विविध चर्चाका बिच तत्कालका लागि नेइमारको पिएसजी बहिर्गमन रोकिएको ।
नेइमारले पिएसजी छोड्नका लागि क्लबलाई तिर्नु पर्ने मध्ये १८ मिलियन पाउण्ड आफैले तिर्न पनि प्रस्ताव गरेको बताइन्छ । त्यो रणनीति पनि काम नलागेपछि नेइमारले कम्तिमा आउँदो जनवरीसम्म पिएसजीमै बिताउनु पर्ने भएको छ ।