बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ।
नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो कान्जीहाउसमा रहेका मध्ये तीन सय ७० गाई, केही गोरु र बाच्छाबाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पु¥याउन खोजेको थियो। सम्बन्धित स्थानीय तह र श्रीस्थान मन्दिर व्यवस्थापन समितिसँगको समन्वयबिनै लैजान लागिएका गाई वीरेन्द्रनगरको भेरी पुलदेखि कुटकुवा क्षेत्रका विभिन्न जंगल र भीरमा बिहीबार राति साढे १२ बजेदेखि शुक्रबार बिहान चार बजेबीचमा झारिएको थियो। त्यस क्रममा ३५ वटा गाई मृत अवस्थामा फेला परेका थिए।
गाई झारेर फर्कंदै गरेका आठ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित सातजनालाई पक्राउ गरेको थियो। प्रहरीले तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहितलाई खोजिरहेको छ।
स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेल पनि गोवध घटनामा मुछिएका छन्। उनलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रहरीको तयारी छ।
आजको नागरिक दैनिकमा समाचार छ ।