
काठमाडौं,१६ भाद्र। तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारस्थित गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभा तथा तिज बिशेष कार्यक्रम २०७६ शनिबार सम्पन्न भएको छ।
राजधानीको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष कविन्द्र रिमालले प्रस्तुत गर्नुभएको संचालक समितिको प्रतिबेदन, उपाध्यक्ष सन्तोष ढुंगानाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७५/७६ को यथार्थ बिवरण र २०७६/७७ को अनुमानित बजेट तथा कार्यक्रम र लेखा समिति संयोजक राम सिं तामाङ्गले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिबेदन पारित भएको थियो।
कार्यक्रममा गत बर्षको एसईई परिक्षामा सर्बोकृष्ट नतिजा ल्याउने संस्थामा आबद्द सदस्यका सन्ततिलाई पुरस्कार सहित सम्मानित गरिएको थियो। २०७५ को परिक्षामा सर्बोकृष्ट स्थान ल्याउने सिम्रन श्रेष्ठ,बिबेक गौतम,अंकिता भण्डारी,स्मृति भट्टराई,आयुष शाही र दिपिका महर्जन सम्मानित हुनुभएको थियो।
जेष्ठ नागरीक सम्मान अन्तर्गत लेख बहादुर अर्याल,कमान सिङ्ग तामाङ्ग र गङ्गा कुमारी भण्डारी तथा उत्कृष्ट कारोबारी अन्तर्गत सन्तोष श्रेष्ठ र गीता तिमल्सिना सम्मानित हुनुभएको थियो। संस्थाले संचालन गरेको नारी पेवा बचत खाता अन्तरगतका गीता श्रेष्ठ र सुबत्रा अर्याल रिमाल सुत्केरी खर्च सहित सम्मानित हुनुभएको थियो भने बर्षको उत्कृष्ट कर्मचारीको रुपमा शम्भु प्रसाद ढुंगाना सम्मानित हुनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धितालले सहकारी क्षेत्रमा सरकारको नजर पर्नु सकारात्मक सुरुवात भएको बताउँदै सहकारी नीतिबाट कोहिपनि आत्तिनुपर्ने स्थिति नरहेको बताउनुभयो। संघ र प्रदेशको सहकारी ऐनको मातहतमा रहेर आफुहरु पनि स्थानिय सहकारी ऐन तर्जुमाको चरणमा रहेको बताउँदै धितालले नगरभित्रका सबै सहकारीलाई स्थानिय सरकारलाई राय सुझाब सहित सहयोग गर्न आग्रह समेत गर्नुभयो। तिज बिशेष कार्यक्रमले मौलिक परम्परा र रीतिरिवाजको जगेर्ना र प्रबर्धन गर्न सहयोगी भूमिका खेल्ने उहाँको भनाई थियो।
बिशिष्ट अतिथिको रुपमा बोल्दै स्थानिय समाजसेवी एवं बुद्धिजीवी धनलाल महर्जनले सरकारले तय गर्ने सहकारी नीति सहकारीतामा आबद्ध सबै बर्ग र समुदायको हितमा हुनुपर्ने भन्दै सहकारीहरु आफैं सक्षम र सबल हुन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो।
अघिल्लो आर्थिक बर्षमा ८४,६३,१०० शेयर पुँजी रहेकोमा संस्थाले २०७६ असार मसान्तसम्म पुँजी बढाएर १,०३,४२,२०० पुर्याएको छ। त्यसैगरी अघिल्लो साल ३,२२,४७,५९४.१९ कायम रहेको संस्थाको निक्षेप २०७६ असार सम्म ५,२३,४५,८९४.७६ पुगेको छ। संस्थाले कर्जा तर्फ सोहि बर्षको असार मसान्त सम्म ५,५५,७६,६८४ लगानी गरेको छ।
सामाजिक कार्यमा थप सक्रियता जनाउने; बिषय, प्रकृति,कार्यक्षेत्र,उद्देश्य र क्षमताजस्ता पक्षमा रहेर विभिन्न सहकारी संस्थासँग समन्वय गरी एकीकरण प्रक्रिया अघि बढाइने जस्ता भावी योजना संस्थाले तय गरेको छ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष अमृत थापा,सोहि नगरपालिका वडा नं ११ का वडा सदस्य प्रज्वल बिक्रम थापा,बिभिन्न बित्तीय संस्थाका व्यवस्थापक तथा प्रबन्धक लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
संस्थाले गत सालबाट संचालन गरेको नारीपेवा बचत खाता अन्तरगतका महिला सदस्यहरुको लागी आयोजना गरेको तिज बिशेष कार्यक्रममा उपस्थित महिलाहरुले परम्परागत पहिरनमा सजिएर तीजका गीतमा नाचगान गरेर मनोरञ्जन गरेका थिए। मौलिक संस्कृतिको जगेर्ना गर्ने हेतुले महिला दिदीबहिनीको सम्मानमा सामुहिक नाचगान र दर खाने कार्यक्रमको आयोजना गरिएको संस्थाका सुवास अधिकारीले बताउनुभयो।
तस्वीर: प्रबिण बिशंक