
१४ भदौ, धनुषा । बहुप्रतिक्षित काठमाडौं–तराई द्रूतमार्ग तोकिएको समयमा सम्पन्न गर्न कठिन हुने देखिएपछि प्रदेश–२ सरकारले चासो देखाएको छ ।
नीतिगत अस्पष्टताका कारण ६ महिनादेखि हुनुपर्ने जति काम हुन नसकेकोमा चिन्ता प्रकट गर्दै प्रदेश सरकारले चासो देखाएको हो । मन्त्रिपरिषद्ले डिपीआर पास गरेपनि थप जटिलता आउन नदिनका लागि प्रदेशसभा सदस्यहरूले खबरदारीका लागि चासो देखाएका हुन् ।
निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणको चरणमा रहेको स्मार्ट सिटी पनि द्रुतमार्गसँग जोडिएकाले प्रदेश सरकारले यसमा चासो देखाएको बताइएको छ ।
द्रुतमार्ग समयमै निर्माण सम्पन्न गर्नका लागि दबाब दिन मुख्यमन्त्रीसहितको टोली संघीय सरकारलाई दबाब दिन काठमाडौं जाने तयारीमा जुटेको नेकपाका प्रमुख सचेतक सुन्दर विश्वकर्माले जानकारी दिनुभएको छ । मुलुकको समृद्धिको आधार मानिएको यो मार्गको निर्माणका लागि सरकारले छुट्याएको बजेट मध्ये ९ अर्ब रुपैयाँ फ्रिज भएको थियो । द्रुतमार्ग निर्माणका लागि विसं. २०७४ बैशाखमा सरकारले नेपाली सेनालाई जिम्मेबारी सुम्पेको थियो ।
चार वर्षमा निर्माण सम्पन्न गरिने सम्झौता गरिएपनि दुई वर्ष वितिसक्दा समेत कामले तीव्रता लिन सकेको छैन ।
समयको बचत, आर्थिक समृद्धिको आधार, मधेशको विकास अनि सम्बन्ध र राष्ट्रिय आवश्यकता बनेको गौरवको यस योजनाप्रति पछिल्लो समय प्रदेश सरकारले संघीय सरकारलाई दबाब दिन चासो बढाएको छ ।